काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। प्रतिष्ठानले स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५ औँ स्मृतिसभाका अवसरमा आज ललितपुरको जावलाखेलस्थित वीरेन्द्र चोकमा विशेष कार्यक्रम आयोजना गरी सो माग गरेको हो।
कार्यक्रममा प्रतिष्ठानका महासचिव रञ्जित धमलाले दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा हुँदासम्म पनि घटनाको वास्तविक तथ्य बाहिर आउन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो। वि.सं. २०५८ जेठ १९ गते भएको सो बीभत्स घटना नेपालको इतिहासकै अत्यन्त दुःखद र रहस्यमय भएको उल्लेख गर्दै उहाँले राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको उक्त घटनाको वास्तविकता जनतासामु ल्याउन नसक्नु राज्यको गम्भीर कमजोरी भएको टिप्पणी गर्नुभयो। उहाँले सो दिनलाई नेपालको इतिहासमा ‘कालो दिन’का रूपमा औपचारिक रूपमा दर्ज गर्नसमेत आग्रह गर्नुभयो।
नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय स्तरमा शान्तिप्रेमी नेतृत्वको पहिचान स्थापित गरेको स्मरण गर्दै प्रतिष्ठानले सो प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरे पनि कतिपय देशको असहमतिका कारण कार्यान्वयन हुन नसकेको जनाएको छ। प्रतिष्ठानले राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र’ प्रस्तावलाई पुनर्जीवित गर्न तथा मुलुकमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ।



