कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सञ्चालन गरेको ‘नागरिकसँग मेयर’ कार्यक्रम नगरवासीका लागि निकै प्रभावकारी बनेको छ। नगरपालिकाले सुरु गरेको यस विशेष अभियानमार्फत हालसम्म २४ हजार ७ सय २१ जना स्थानीय नागरिकले आफ्नै घरदैलोमा सहज रूपमा स्वास्थ्य उपचार सेवा पाएका छन्।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वंशीराज भट्टका अनुसार जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन र नसर्ने प्रकृतिका रोगहरूबारे गाउँ-गाउँमा सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको हो। यसैगरी नगरप्रमुख हेमराज ओझाले कार्यक्रम अन्तर्गत चिकित्सकहरू आफैँ सर्वसाधारणको घरमै पुगेर उच्च रक्तचाप, मधुमेह, नियमित औषधि सेवनको अवस्था तथा खोपको प्रभावकारिताबारे जाँच र आवश्यक परामर्श दिँदै आएको जानकारी दिए।
हाल कृष्णपुर स्वास्थ्य चौकीमा कार्यरत एमबीबीएस चिकित्सकको प्रत्यक्ष रेखदेखमा नगरवासीलाई आवश्यक औषधि वितरण, एम्बुलेन्स तथा ल्याब (प्रयोगशाला) सेवा समेत उपलब्ध गराइँदै आएको नगरपालिकाले जनाएको छ।



