कञ्चनपुर। कञ्चनपुर कारागारबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले लामो खोजी अभियानपछि उनीहरूलाई बुधबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका मदन चौधरी र लागूऔषध (खैरो हेरोइन) मुद्दाका अर्जुन खड्का रहेका छन्। उनीहरू वि.सं. २०८२ साल भदौ २४ गते कञ्चनपुर कारागारबाट फरार भई लुकिछिपी बस्दै आएका थिए।
पक्राउ परेकामध्ये कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणी निवासी मदन चौधरी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका कैदी हुन्। त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुर निवासी अर्जुन खड्का लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय भुक्तान गरिरहेका प्रतिवादी हुन्।
कारागारबाट फरार भएलगत्तै उनीहरूको खोजीका लागि प्रहरीले विशेष टोली परिचालन गरी अभियान चलाएको थियो। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



