काठमाडौँ । विशिष्ट अभिनेता राजेश हमालले नेपाल र भारतबिचको सीमा विवाद तथा समसामयिक राजनीतिक नेतृत्वको कार्यक्षमताका विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। राष्ट्रिय नेतृत्वमा दूरदृष्टि र परिपक्वताको अभाव हुँदा मुलुकले संकट व्यहोर्नुपर्ने चेतावनी दिँदै उहाँले सीमा समस्याका प्राविधिक र रणनीतिक पक्षलाई बुझेर मात्रै अभिव्यक्ति दिनुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई प्रत्यक्ष रूपमा उल्लेख नगरिकन हमालले ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ र ‘सीमापार अतिक्रमण’ बिचको भिन्नता केलाउनुभएको हो।
अभिनेता हमालका अनुसार यी दुई विषयलाई प्रायः एउटै अर्थमा बुझ्ने गरिए पनि यिनको प्रकृति, गम्भीरता र समाधानको मार्ग पूर्णतः फरक हुन्छ। खुला सीमा, नदीहरूले धार परिवर्तन गर्नु, सीमा स्तम्भहरू हराउनु र सीमावर्ती क्षेत्रमा बस्ती विस्तार हुनु जस्ता कारणले हुने समस्यालाई उहाँले ‘सीमापार अतिक्रमण’ को संज्ञा दिनुभएको छ। यस्ता समस्या रणनीतिक विस्तारवाद नभएर स्थानीय तथा प्रशासनिक प्रकृतिका हुने भएकाले यसको समाधान द्विपक्षीय संवाद, संयुक्त प्राविधिक सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुने उहाँको ठम्याइ छ।
अर्कोतर्फ, ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ लाई हमालले निकै संवेदनशील र रणनीतिक विषयका रूपमा व्याख्या गर्नुभएको छ। विवादित भूभागमा कुनै राष्ट्रले संस्थागत रूपमै आफ्नो नियन्त्रण विस्तार गर्ने, सडक निर्माण गर्ने, सुरक्षा निकाय परिचालन गर्ने र सरकारी नक्सा नै संशोधन गरेर औपचारिक दाबी प्रस्तुत गर्ने कार्य यसअन्तर्गत पर्ने उहाँले उल्लेख गर्नुभएको छ। यसको प्रमुख उदाहरणका रूपमा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई प्रस्तुत गर्नुभएको छ।
वर्तमान विश्व राजनीतिको अनिश्चित परिवेश र नेपालको नेतृत्व तहको क्षमतामाथि विमर्श गर्दै हमालले देश हाँक्ने व्यक्तिमा विशेष योग्यता हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले अगाडि भन्नुभएको छ, “कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, दृढ निर्णय क्षमता र दूरदृष्टि नहुँदा देशले गम्भीर भू–राजनीतिक चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।”



