हस्तान्तरण भएको दुई वर्षमै कैलाली बहुमुखी क्याम्पसको नयाँ भवन चुहिन थाल्यो

प्रकाशित मिति:

धनगढी सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक लगानीमा निर्मित कैलाली बहुमुखी क्याम्पसको नयाँ भवन हस्तान्तरण भएको दुई वर्ष नपुग्दै चुहिन थालेको छ। क्याम्पसको विज्ञान तथा सूचना प्रविधि भवन ‘ए’ को छतबाट पानी चुहिन थालेपछि सरकारी बजेटमा निर्माण गरिएका भौतिक पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको हो।

कूल ४ करोड ५१ लाख ३८ हजार ४७० रुपैयाँको लागतमा रोयल पवन जेभी निर्माण कम्पनीले सो भवन तयार पारेको थियो। उक्त भवन २०८१ जेठ १६ गते तत्कालीन मुख्यमन्त्री एवं सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी र मन्त्रालयका तत्कालीन सचिव गणेशबहादुर सिंहले क्याम्पस प्रशासनलाई हस्तान्तरण गर्नुभएको थियो।

क्याम्पस प्रशासनका अनुसार मनसुन पूर्ण रूपमा सक्रिय नहुँदै परेको सामान्य वर्षामा पनि भवनको छतबाट पानी टप्किन थालेको छ। जसका कारण नियमित पठनपाठन प्रभावित हुनुका साथै प्रयोगशाला (ल्याब) मा राखिएका लाखौँ मूल्यका शैक्षिक उपकरण र सामग्रीहरू नष्ट हुने जोखिम बढेको छ।

क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले भवनको निर्माण गुणस्तर कमजोर रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “भवनमा अध्ययन–अध्यापन र प्रयोगशाला सञ्चालन भइसकेको अवस्थामा यसरी पानी चुहिँदा महँगा सामग्रीहरू संकटमा परेका छन्।” छतबाहेक झ्यालहरूमा पानी रोक्ने ‘सिलिकन’ समेत प्रयोग नगरिएकाले वर्षाको पानी सिधै कोठाभित्र पस्ने गरेको उहाँले जानकारी दिनुभयो।

भवनमा देखिएको यो गम्भीर समस्या समाधानका लागि क्याम्पस प्रशासनले सामाजिक विकास मन्त्रालयलाई पटक–पटक लिखित तथा मौखिक जानकारी गराइसकेको छ। मन्त्रालयबाट मर्मत गरिने आश्वासन आए पनि हालसम्म कुनै ठोस काम हुन नसकेको क्याम्पसको गुनासो छ। होटल व्यवस्थापन सङ्कायको ल्याबमा क्षति पुग्ने सम्भावना देखिएपछि क्याम्पसले निर्माण कम्पनीमार्फत नै यसको दीर्घकालीन मर्मत गराउन मन्त्रालयलाई औपचारिक पत्र समेत पठाएको छ।

उच्च शिक्षाको पूर्वाधार सुधारका लागि राज्यको करोडौँ लगानीमा बनेको भवन छोटो समयमै जीर्ण बन्न थालेपछि विद्यार्थी, प्राध्यापक र स्थानीय सरोकारवालाहरूले सार्वजनिक खर्चको पारदर्शिता र निर्माण कम्पनीको गैरजिम्मेवारीपनप्रति गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेका छन्।

ताजा समाचार