काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिका विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक पदमा बस्ने व्यक्तिमाथि उठेका जिज्ञासाको सामना गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्नुभयो।
सम्पत्ति छानबिन समितिसमक्ष आफूले बयान दिएको प्रङ्ग उल्लेख गर्दै पूर्वगृहमन्त्री गुरुङले भन्नुभयो, “सार्वजनिक जवाफदेहिता वहन गर्दै मैले छानबिन समितिसमक्ष उपस्थित भएर स्पष्टीकरण दिएको हुँ। बयानका क्रममा सोधिएका कतिपय जटिल प्रश्नहरूको मैले सहज र स्पष्ट जवाफ दिएको छु।”
प्रतिप्रश्न र छानबिन प्रतिवेदन
बयानका क्रममा समितिका पदाधिकारीले सम्पत्तिको स्रोतबारे सोधेको प्रसङ्ग निकाल्दै उहाँले भन्नुभयो, “समितिले मलाई यति धेरै सम्पत्तिको स्रोत के हो भनेर सोधेको थियो, मैले पनि सहज रूपमा छानबिन समितिका सदस्यहरूलाई नै तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरिदिएँ।”
छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पेस भइसकेको जानकारी दिँदै उहाँले आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताउनुभयो।
जिम्मेवारीमा फर्किए कामलाई प्राथमिकता
छानबिनबाट सफाइ पाएर पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावनाबारे चर्चा गर्दै उहाँले थप्नुभयो, “यदि समितिबाट निर्दोष साबित भएर सरकारले मलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दियो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिचाउने प्रयोजनका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।” पुन: जिम्मेवारी पाएमा आफूले औपचारिकताभन्दा कामलाई प्राथमिकता दिने उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा उहाँले पार्टीको जिल्ला नेतृत्व अब राजधानी केन्द्रित हुन नहुने धारणा राख्नुभयो। नयाँ बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले केन्द्रमा मात्र बस्ने नेतृत्वले चुनावका बेला मात्र जनता सम्झिने र त्यसले सङ्गठनलाई फाइदा नपुग्ने टिप्पणी गर्नुभयो। उहाँले आफू गृहमन्त्री रहँदा आम नागरिकबाट उत्साहजनक साथ र सहयोग पाएको दाबीसमेत गर्नुभयो।



