प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ: मन्त्री मेहता

प्रकाशित मिति:

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकार शासकीय सुधारका सय वटा प्राथमिकता प्राप्त कार्यसूचीमा केन्द्रित भएर अघि बढिरहेको बताउनुभएको छ। आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री मेहताले प्रधानमन्त्री वालेन्द्र साहले उक्त कार्यसूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएकाले मन्त्रालयको सम्पूर्ण ध्यान ती कामहरू समयमै सम्पन्न गर्नमा केन्द्रित भएको प्रस्ट पार्नुभयो। मन्त्रालयअन्तर्गत धेरै क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेको स्वीकार गर्दै उहाँले आगामी दिनमा नतिजामूखी काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

नागरिक र सञ्चारमाध्यमप्रतिको जवाफदेहितालाई जोड दिँदै मन्त्री मेहताले भन्नुभयो, “हाम्रो मन्त्रालयले कम्तीमा प्रत्येक १५ दिनमा सञ्चारकर्मीहरूसँग नियमित भेटघाट गर्नेछ। यसबाट मन्त्रालयका कामकारबाही र प्रगतिका बारेमा आम नागरिकले पारदर्शी रूपमा जानकारी पाउनेछन्।”

मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूबाट प्राप्त हुने रचनात्मक सुझावहरूलाई उच्च प्राथमिकतामा राखेर कार्ययोजना बनाउने उहाँले उल्लेख गर्नुभयो। मन्त्री मेहताले मन्त्रालयको सेवा प्रवाह र जिम्मेवारीका सन्दर्भमा आउने गरेका जनगुनासोहरूलाई पनि क्रमशः सम्बोधन गर्दै लगिने विश्वास दिलाउनुभयो।

ताजा समाचार