धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आइतबार राति सम्पन्न निर्वाचनबाट ठकुल्ला ३३५ मत प्राप्त गर्दै सभापति पदमा विजयी हुनुभएको हो।
निर्वाचनमा उहाँका प्रतिस्पर्धी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। कुल ५०८ मतदाता रहेको जिल्लामा ३३५ मत खसेको थियो। यद्यपि, अध्यक्षका उम्मेदवारद्वय रेग्मी र चौधरीले निर्वाचन समिति अवैधानिक रहेको र मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै मतदान प्रक्रिया बहिष्कार गर्नुभएको थियो। उहाँहरूको असन्तुष्टिका बीच समितिले निर्वाचन प्रक्रिया अघि बढाएको थियो।
त्यसैगरी, जिल्ला उपसभापति पदमा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै १५२ मतका साथ रामलखन चौधरी विजयी हुनुभएको छ। सचिवमा तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही निर्वाचित हुनुभएको छ।
जिल्ला कार्यसमिति सदस्यहरूमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आले मगर, दीपक विक र नरदीप बहादुर धामी चयन हुनुभएको छ। यसैगरी, निर्वाचन क्षेत्र सदस्यतर्फ कैलाली क्षेत्र नम्बर १ बाट टंकप्रसाद जैशी ढुंगाना, क्षेत्र नम्बर २ बाट कृष्णबहादुर विष्ट, क्षेत्र नम्बर ३ बाट बासुदेव घरेडी र क्षेत्र नम्बर ४ बाट दुर्गा अधिकारी निर्वाचित हुनुभएको छ।



