सुदूरपश्चिममा मन्त्रीमण्डल हेरफेर हुँदै, बिक्रमसिंह धामी अर्थमन्त्री बन्ने निश्चित

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेर र विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ समिकरणअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार नै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्य तीव्र बनाउनुभएको हो।

सोही क्रममा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले पाउने लगभग निश्चित भएको स्रोतले जनाएको छ। दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य धामीलाई मुख्यमन्त्री शाहले अर्थ मन्त्रालयको कमान्ड सुम्पिन लाग्नुभएको हो। हाल यो मन्त्रालय काँग्रेसकै बहादुरसिंह थापाले सम्हाल्दै आउनुभएको छ।

यसअघि अर्थ मन्त्रालयका लागि काँग्रेसकै प्रदेशसभा सदस्य डम्मरी महराले बलियो दाबी प्रस्तुत गर्नुभएको थियो। मुख्यमन्त्रीविरुद्धको हस्ताक्षर अभियानबाट पछि हटेकी महरालाई अन्य पद वा जिम्मेवारीमा व्यवस्थापन गर्ने गरी धामीको नाम तय गरिएको स्रोतको दाबी छ। महरा आफैँले पनि सामाजिक सञ्जालमार्फत आफू मन्त्रीको दौडबाट बाहिरिएको स्पष्ट पारिसक्नुभएको छ।

सत्ता साझेदार दल नेकपा एमालेले सरकारमा सहभागी हुने आफ्ना चार जना मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाइसकेको छ। यता काँग्रेसभित्रको आन्तरिक विवाद भने अझै पूर्ण रूपमा सुल्झिसकेको छैन। संस्थापन पक्षविरुद्ध उभिएको दिवानसिंह विष्ट समूहले सरकारमा पठाइने मन्त्रीहरूको नाम टुङ्गो लगाउन बाँकी रहेको बुझिएको छ। मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तारसँगै पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई पनि सम्बोधन गर्ने प्रयास गरिरहनुभएको छ।

ताजा समाचार