बीवाईडी कर प्रकरणमा एमालेको दाबी: ‘ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ’

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले) ले संसद्लाई छलेर आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद पद्मा अर्यालले बजेटसँग सम्बन्धित आर्थिक विधेयकको १६ वटा पृष्ठमा अङ्कहरू परिवर्तन गरिएको दाबी गर्दै विरोध जनाउनुभएको हो।

संसद्मा सम्बोधनका क्रममा सांसद अर्यालले भन्सारमा सेटिङ मिलाएर चीनबाट आयात गरिने ‘बीवाईडी’ ब्राण्डका गाडीहरूमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउनुभयो। “भन्सारमा कागज र प्रक्रिया मिलाएर गाडीहरू नेपाल भित्रिनुअघि नै रातारात घोटालाको खेल रचिएको छ,” उहाँले भन्नुभयो, “बीवाईडी गाडी प्रकरणमा शङ्का मात्र होइन, स्पष्ट रूपमा आर्थिक अनियमितता भएको सङ्केतहरू देखिएका छन्।”

संसद्मा एउटा अङ्क प्रस्तुत गर्ने र मन्त्रालय पुगेपछि अर्को अङ्क कायम गर्ने प्रवृत्तिको उद्देश्य के हो भन्दै उहाँले सरकारमाथि प्रश्न उठाउनुभयो। निश्चित समूहको फाइदाका लागि कानुन र अङ्कहरू तोडमरोड गरिएको भन्दै उहाँले यसको जवाफ सम्बन्धित मन्त्री र स्वयं अर्थमन्त्रीले दिनुपर्ने माग गर्नुभयो। रातारात करका दर परिवर्तन गरेर राज्यको राजस्व मार्ने काम आर्थिक अपराध भएको भन्दै एमालेले यस्ता गतिविधि तत्काल बन्द गर्न र छानबिन गर्न माग गरेको छ।

ताजा समाचार