कैलारीमा डमरुसहित बाघ देखिएपछि स्थानीयमा त्रास

प्रकाशित मिति:

कैलाली । कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका हरियाली महिला, मिलन र सयपत्री सामुदायिक वन क्षेत्रमा डमरु (बच्चा) सहितको पोथी बाघ देखिन थालेपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। भारतको सीमावर्ती दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या धेरै भएकाले पोथी बाघले आफ्ना बच्चाहरू सुरक्षित रूपमा हुर्काउन मोहना र घुरहा नदी किनार हुँदै बसन्ता जैविक मार्गमार्फत नेपालका यी वनहरूमा ल्याउने गरेको स्थानीयको भनाइ छ।

हालै उक्त क्षेत्रमा पोथी बाघलाई पछ्याउँदै एउटा भाले बाघ पनि आइपुगेपछि पोथी बाघ आफ्ना डमरुसहित मोहनपुरतर्फको वन क्षेत्रमा सरेको छ। बाघले हालसम्म दुई वटा गोरु र एउटा बँदेल मारिसकेको छ भने वनमा हराएको गाई खोज्न गएका स्थानीय चन्द्रकला नेपाल र उनका छोरा नीरज नेपालको बाघसँग प्रत्यक्ष जम्काभेट समेत भएको थियो। वन क्षेत्रकै नजिक विद्यालय रहेका कारण विद्यार्थीहरूको सुरक्षालाई लिएर विशेष चिन्ता बढेपछि विद्यालय आसपासका झाडीहरू सफा गर्ने काम गरिएको छ।

स्थानीयले बाघको निगरानीका लागि ‘क्यामेरा ट्र्याप’ जडान गर्न माग गरेपछि डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बाघको उपस्थिति पुष्टि भए आवश्यक सतर्कता अपनाउने र सचेतना फैलाउने बताएका छन्। हाल हुलाकी राजमार्ग अन्तर्गत घुरहा नदीको पुलदेखि उत्तरतर्फको वन र नदी किनारमा बाघ बढी सक्रिय देखिएकाले त्यस क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

ताजा समाचार