विद्यार्थीको तनाव व्यवस्थापनका लागि टीकापुरमा मानसिक स्वास्थ्य अभियान

प्रकाशित मिति:

कैलाली । किशोरावस्थामा देखिने मानसिक तनाव न्यूनीकरणका लागि कैलालीको टीकापुर नगरपालिकाले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ। पालिकाको स्वास्थ्य शाखाले जेठ महिनामा अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरी हालसम्म २० वटा विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी तथा १० वटा समुदायका टोल विकास संस्थामा आबद्ध नागरिकहरूलाई मानसिक स्वास्थ्यबारे सचेतना जगाइसकेको छ। मनमा गुम्सिएका कुरा व्यक्त गर्न नपाउँदा र विविध समस्याले तनाव बढ्दा मानसिक स्वास्थ्य समस्या हुने भएकाले पालिकाले यसलाई प्राथमिकता दिएको हो र यस अभियानपछि धेरै बालबालिका तथा नागरिकहरू खुलेर परामर्श र उपचारका लागि आउन थालेका छन्।

नगरपालिकामा यसै वर्षदेखि प्रदेश सरकार र सिएमसी नेपालको सहकार्यमा सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित परिवारका लागि ‘सङ्क्रमणकालीन न्यायका लागि मनोसेवा’ सुरु गरिएको छ भने ‘सामी’ कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका र उनीहरूका परिवारलाई मनोसामाजिक परामर्शकर्ता मीना कुँवर र स्वास्थ्यकर्मी उषा भुसालले परामर्श सेवा दिइरहेका छन्। हाल टीकापुर अस्पतालमा साताको तीन दिन चिकित्सकको सेवा उपलब्ध छ भने विजयनगर र नारायणपुर स्वास्थ्य संस्थाबाट मानसिक समस्या भएकाहरूलाई १२ किसिमका औषधिहरू निःशुल्क रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ।

ताजा समाचार