बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा सोमबार एक जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घटनामा पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय जिप चालक कर्णबहादुर बोहरा र पुर्चौडी नगरपालिका–८ की २४ वर्षीया बागमती साउद घाइते भएका छन्, जसमा चालक बोहराको अवस्था निकै गम्भीर रहेको छ। बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।



