कैलालीका १३ वटै पालिकामा रास्वपाको नयाँ नेतृत्व

प्रकाशित मिति:

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली जिल्लाका सबै १३ वटै स्थानीय तहमा सांगठनिक विस्तार गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको पहिलो पालिकास्तरीय अधिवेशनमार्फत जिल्लाका सबै स्थानीय निकायहरूमा नयाँ नेतृत्व चयन गरिएको हो । केही स्थानमा बाहेक अधिकांश पालिकामा आपसी समझदारी र सर्वसम्मतिका आधारमा नयाँ कार्यसमिति गठन गरिएको रास्वपाले जनाएको छ ।

रास्वपा स्रोतका अनुसार सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको सभापतिमा तुलाराम खनाल चयन हुनुभएको छ । यस्तै, टीकापुर नगरपालिकामा गोविन्द विष्ट, लम्कीचुहा नगरपालिकामा नामकर खनाल, घोडाघोडी नगरपालिकामा नारायण भण्डारी, भजनी नगरपालिकामा भरत साउद र गोदावरी नगरपालिकामा आशिष धामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । गौरीगङ्गा नगरपालिकाको जिम्मेवारी भने सागर सिंहले पाउनुभएको छ ।

गाउँपालिकातर्फ जानकीमा कलावती चौधरी, जोशीपुरमा विनोद चौधरी, बर्दगोरियामा केशव भण्डारी र मोहन्याल गाउँपालिकामा महेश विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । जिल्लाका प्रायः सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भए पनि कैलारी गाउँपालिकामा भने रोचक प्रतिस्पर्धा देखिएको थियो ।

कैलारीको नेतृत्वका लागि रेबन्त बोहोरा र जितबहादुर चौधरीबिच चुनावी प्रतिस्पर्धा भएको थियो । मतदानमा दुवै आकांक्षीले बराबर २३–२३ मत प्राप्त गरेपछि अन्ततः भाग्यको फैसला गोलाप्रथा सङ्केतबाट गरिएको थियो । गोलाप्रथाबाट बोहोरा कैलारी गाउँपालिकाको सभापतिमा निर्वाचित हुनुभएको हो ।

रास्वपाको सार्वजनिक मामिला विभागका केन्द्रीय सदस्य हरि रेग्मीले जिल्लाका सबै स्थानीय तहमा सफलतापूर्वक अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइसकेको जानकारी दिनुभयो । तल्लो तहको सांगठनिक संरचनालाई पूर्णता दिएसँगै रास्वपा कैलालीको जिल्ला सम्मेलन समेत आइतबारदेखि प्रारम्भ भइसकेको सो पार्टीले जनाएको छ ।

ताजा समाचार