कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको समस्या समाधानका लागि जग्गा नापनक्साको कार्य प्रारम्भ गरिएको छ । नगरपालिकाको वडा नम्बर ५ र ६ मा सोमबारदेखि औपचारिक रूपमा यो कार्यको सुरुवात गरिएको हो ।
नगर प्रमुख हेमराज ओझाले एक समारोहका बिच नापनक्सा कार्यको उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख ओझाले लामो समयदेखि भूमि समस्या झेलिरहेका नागरिकको व्यवस्थापनका लागि नगरपालिकाले तीव्र गतिमा काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय भूमि आयोगको समन्वयमा सुरु भएको यस अभियानले लालपुर्जाविहीन स्थानीय बासिन्दालाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने लक्ष्य राखेको छ ।
नगरपालिकाले नापनक्सा प्रक्रियालाई सहज र त्रुटिरहित बनाउनका लागि आवश्यक प्रमाण र कागजातसहित उपस्थित हुन सम्पूर्ण नगरवासीलाई आग्रह समेत गरेको छ । वर्षौँदेखि आफ्नो जमिनको स्वामित्व पाउन नसकेका स्थानीयवासीहरू भने गाउँमै जग्गा नाप्ने कार्य सुरु भएपछि अब लालपुर्जा पाउने आशामा निकै उत्साहित देखिएका छन् ।



