कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास (होमस्टे) मा सौर्य ऊर्जा (सोलार) ब्याकअप प्रणाली जडान गरिएको छ। वातावरणमैत्री पर्यटन प्रवर्द्धन गर्ने र राष्ट्रिय प्रसारण लाइनको विद्युत् अवरुद्ध हुँदा पनि पर्यटकलाई निरन्तर सेवा दिने उद्देश्यले यो प्रविधि भित्र्याइएको हो। शुक्लाफाँटा नगरपालिका र ‘कनेक्ट’ परियोजनाको साझेदारी तथा ‘हिमाली प्रकृति’ को समन्वयमा यहाँका आठ वटा होमस्टे घरमा सोलार प्रणाली जडान गरिएको हो। कनेक्ट परियोजनाका टिम लिडर मनोजप्रसाद ओझाका अनुसार कुल ७ लाख ५९ हजार ५२० रुपियाँको लागतमा प्रतिघर ९४ हजार ९४७ रुपियाँका दरले यो प्रणाली जडान गरिएको छ।
हिमाली प्रकृतिका प्राविधिक सुपरभाइजर पुरनसिंह ठगुन्नाले सौर्य ऊर्जाको प्रयोगले नवीकरणीय ऊर्जाको प्रवर्द्धन हुनुका साथै ग्रामीण पर्यटनलाई दिगो बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। सोलार जडान भएपछि बत्ती जाने समस्या हटेको भन्दै होमस्टे सञ्चालक खुसीराम चौधरीले भन्नुभयो, “पहिले विद्युत् जाँदा पाहुनालाई असहज हुन्थ्यो। अहिले कोठामा बत्ती, पङ्खा र मोबाइल चार्जिङको सुविधा निरन्तर दिन सकेका छौँ।” स्थानीय टिकुराम डगौराले पनि वैकल्पिक ऊर्जाले सेवा प्रवाहलाई भरपर्दो बनाएको बताउनुभयो।
अनुगमनका क्रममा शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले सौर्य ऊर्जाको प्रयोगले विद्युत् खर्च घटाउने, कार्बन उत्सर्जन कम गर्ने र प्रकृतिमा आधारित पर्यटनलाई बलियो बनाउने उल्लेख गर्नुभयो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास सञ्चालित यो होमस्टे रैथाने थारु संस्कृति, परम्परागत नृत्य र स्थानीय परिकारका लागि आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ। सौर्य ऊर्जा थपिएसँगै यहाँको पर्यटकीय आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।



