सुधन गुरुङ पुनः गृहमन्त्री र महावीर पुन विज्ञान मन्त्रीमा सिफारिस

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। गुरुङ र पुनले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ। आज ३ बजे शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।

यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त भएका थिए। सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। सरकारले उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न एउटा समिति गठन गरेको थियो। अध्ययन समितिको प्रतिवेदनले उनीमाथि उठेका प्रश्नबारे प्रस्ट पार्दै क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो।

यसैगरी वालेन्द्र शाह नेतृत्वको सरकारमा महावीर पुन पनि मन्त्री बन्ने भएका छन्। उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। पुनकै सुझाव र माग बमोजिम सरकारले यो नवप्रवर्तन मन्त्रालय बनाएको हो। पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री थिए भने उनले मन्त्रीबाट बीचमै राजीनामा दिएर संसदीय निर्वाचनमा भाग लिएका थिए। म्याग्दी १ बाट स्वतन्त्र चुनाव लडेका उनी भारी मतका साथ विजयी बनेका थिए।

ताजा समाचार