कंचनपुर । सुदूरपश्चिमका सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोप अभाव भएको दुई साता बितिसकेको छ। कुकुर तथा अन्य जनावरले टोक्दा तत्काल लगाउनुपर्ने निःशुल्क खोप सरकारी स्वास्थ्य संस्थामा सकिएपछि विपन्न बिरामीहरू मर्कामा परेका छन्। सरकारीमा खोप नभए पनि निजी क्लिनिक र फार्मेसीहरूमा भने महँगो मूल्यमा खोप उपलब्ध भइरहेको छ।
प्रदेश सरकारले खरिद गरेको खोप सकिएपछि र केन्द्र सरकार (स्वास्थ्य सेवा विभाग) बाट तत्काल आपूर्ति हुन नसक्दा यो समस्या आएको हो। विभागले खोप आउन अझै केही समय लाग्ने जनाएको छ। समस्या बढेपछि प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य विभागले स्थानीय तह तथा जिल्ला अस्पतालहरूलाई आन्तरिक स्रोतबाटै खोप व्यवस्थापन गर्न पत्राचार गरेका छन्।



