काठमाडौं । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताका बिच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेका रङ्गशालामा दक्षिण अफ्रिका र आयोजक मेक्सिकोबिचको खेलसँगै ४८ टोली सहभागी फिफा विश्वकपको सुरुआत भएको छ। करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको हो।
इतिहासकै सबैभन्दा ठुलो मानिएको यस विश्वकपको फाइनल खेल जुलाई १९ मा न्युजर्सीमा हुने छ। फिफाका अनुसार प्रतियोगिताबाट करिब १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व उठ्ने अनुमान गरिएको छ। तर, प्रतियोगिता सुरु हुनुअघि नै टिकटको अत्यधिक मूल्यलाई लिएर तीव्र आलोचना भएको छ भने अमेरिकाको कडा अध्यागमन नीतिका कारण खेलाडी, रेफ्री र समर्थकहरूले भिसासम्बन्धी समस्या भोग्नुपरेको रिपोर्ट सार्वजनिक भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उद्घाटनको अवसरमा बोल्दै आलोचनाहरूलाई अस्वीकार गरे। टिकट मूल्यमा विविधता राखिएको र केही खेलका लागि ६० डलरसम्मका सस्ता टिकटदेखि प्रिमियम श्रेणीका लागि ३० हजार डलरसम्मको मूल्य तोकिएको उनले जानकारी दिए। औसत टिकट मूल्य ५०० डलरभन्दा कम रहेको दाबी गर्दै उनले यसलाई अमेरिकी खेलकुदको बजार अनुसार तुलनात्मकरूपमा सुलभ भएको बताए।
भिसा विवादबारे टिप्पणी गर्दै इन्फान्टिनोले सोमाली रेफ्री ओमार आर्टनको घटनालाई ‘दुर्भाग्यपूर्ण’ भने। सुरक्षा चिन्ताका कारण अमेरिकाले प्रवेश अनुमति नदिएपछि उनी प्रतियोगितामा सहभागी नहुने फिफाले पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिसँग सम्पर्क रहेको’ आरोप लगाएको थियो। इन्फान्टिनोले भिसा तथा सुरक्षासम्बन्धी सबै परिस्थितिमा फिफाको पूर्ण नियन्त्रण नहुने स्पष्ट पारे।
त्यस्तै, अमेरिका र इरानबिच जारी सैन्य तथा राजनीतिक तनावका बाबजुद इरानले विश्वकप खेल्न पाउनु फिफाको सफलता भएको उनले उल्लेख गरे। फिफा प्रमुख इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन बिना अमेरिकामा विश्वकप आयोजना गर्न कठिन हुने धारणा समेत राखे। ट्रम्पले भने प्रतियोगिताका केही खेलहरू हेर्न जाने योजना बनाएका छन्।
खेल मैदानतर्फ, ८५ हजार दर्शक क्षमताको एस्टाडियो एजटेकामा दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले घरेलु समर्थकको दबाबलाई चुनौतीका रूपमा लिँदै खेलमा केन्द्रित हुन खेलाडीलाई आग्रह गरे। मेक्सिकोले अहिलेसम्म सात पटक विश्वकपको उद्घाटन खेल खेले पनि जित निकाल्न सकेको छैन। प्रशिक्षक जेभियर एगुइरेले यस पटक त्यो खराब रेकर्ड तोड्ने लक्ष्य राखेका छन्।
उद्घाटनकै दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबिच गुआडालाजारामा हुँदैछ। यस पटक स्पेन, फ्रान्स र इङ्ल्यान्डलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ भने वर्तमान च्याम्पियन अर्जेन्टिना आफ्ना कप्तान लियोनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने दाउमा छ।



