काठमाडौं । नेपाल र भारतबिच सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै सीमा नक्साङ्कनको काम बाँकी रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै मन्त्री खनालले दुई देशबिचको अन्तर्राष्ट्रिय सिमाना सन् १८१६ को सुगौली सन्धिकै आधारमा तय भएको प्रस्ट पारे।
बाँकी क्षेत्रमा नक्साङ्कन नभए पनि देशका अन्य केही भूभागमा भने दशगजा मिचिएको र सीमा पारबाट जमिन कब्जा (क्रस बोर्डर अकुपेसन) भएका समस्याहरू कायमै रहेको उनले उल्लेख गरे। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा उठाएको सीमासम्बन्धी चासो पनि यिनै दशगजा अतिक्रमण र सीमा पारको कब्जासँग जोडिएको मन्त्री खनालको भनाइ थियो।
सिमानालाई व्यवस्थित र वैज्ञानिक बनाउनका लागि अहिले नक्साङ्कन नभएका ठाउँमा सीमा स्तम्भहरू ठड्याउने तथा मर्मत गर्ने काम भइरहेको उनले जानकारी दिए। साथै, दशगजा क्षेत्रमा भएको अतिक्रमणको विवरण संकलन गर्ने र सीमा पारिको कब्जालाई अभिलेखीकरण गर्ने प्रक्रिया अघि बढेको उनले बताए।
लामो समयदेखि ठप्प रहेको दुई देशको प्राविधिक समितिको काम अहिले फेरि सुरु भएको मन्त्री खनालले संसद्लाई जानकारी दिए। उनका अनुसार नेपाल र भारतको संयुक्त प्राविधिक टोली यतिबेला सीमा क्षेत्रमै खटिएर लगत सङ्कलनको काममा जुटेको छ।



