काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको स्पष्टीकरणप्रति प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद साजिदा सिद्दीकीले कडा आपत्ति जनाउनुभएको छ । बिहीबारको बैठकमा अर्थमन्त्रीको वक्तव्यलगत्तै समय लिएर नियमापत्ति गर्दै उहाँले मन्त्रीको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि पोख्नुभएको हो । अर्थमन्त्रीले यो कम्युनिस्टको बजेट नभएको भनी टिप्पणी गरेको प्रति लक्षित गर्दै सांसद सिद्दीकीले कम्युनिस्ट सरकारका पालामा देश र जनताले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अधिकारसहित प्रगति गरेको स्मरण गराउनुभयो ।
सदनमा बोल्दै सांसद सिद्दीकीले आफूहरू अनभिज्ञ र असक्षम नभएको भन्दै अर्थमन्त्रीलाई आँखा जुधाएर कुरा गर्न चुनौती समेत दिनुभयो । “मन्त्रीज्यू, आफ्नो टोलीतर्फ मात्र होइन, सक्नुहुन्छ भने यता (प्रतिपक्ष) तर्फ पनि फर्केर बोल्ने गर्नुस्,” उहाँले भन्नुभयो, “हामी अनपढ, गँवार भएर सदनमा आएका होइनौँ, मन्त्रीज्यूले संसद्को सम्मान गर्न सिक्नुपर्छ ।”
संसद्मा प्रतिवाद एमाले सांसद सिद्दीकीको कडा आपत्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले प्रतिवाद गर्नुभएको छ । उहाँले सिद्दीकीको भनाइ संसद्को नियमावली विपरीत रहेको दाबी गर्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो । ‘कम्युनिस्टको बजेट होइन’ भन्ने अर्थमन्त्रीको भनाइ सामान्य राजनीतिक विचार भएकाले त्यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको जिकिर सांसद दर्शनाले गर्नुभयो ।



