कैलाली । कैलालीको धनगढी र टीकापुरबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बाट दुई सय मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) सहित सोही उपमहानगरपालिका–१ का २४ वर्षीय पवन गुप्ता पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले गुप्तालाई बिहीबार बिहान जाँच गर्ने क्रममा उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।
यसैगरी, कैलालीकै टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन एक ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट उक्त लागूऔषध बरामद भएको हो।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



