रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा पन्तको उम्मेदवारी घोषणा

प्रकाशित मिति:

धनगढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सभापतिका लागि जनकराज पन्तले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी असार १ गते हुने प्रदेश अधिवेशनका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

रास्वपाको अभियान तथा प्रचार–प्रसार विभागका केन्द्रीय सदस्यसमेत रहेका पन्तले उम्मेदवारी घोषणासँगै आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा सङ्गठनलाई आधुनिक, व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्य राखिएको छ।

उनको प्रतिबद्धता पत्रमा प्रदेशस्तरमा आधुनिक पार्टी भवन निर्माण, जिल्ला तथा स्थानीय तहसम्म सङ्गठन विस्तार, डिजिटल प्रणालीमार्फत पार्टी सञ्चालन, कार्यकर्ताको क्षमता विकास र आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिएको छ।

पत्रकार सम्मेलनमा पन्तले सुदूरपश्चिमभरिका पार्टी नेता, कार्यकर्ता र सदस्यहरूलाई प्रदेश निर्माणको आफ्नो अठोटमा साथ र सहयोग गर्न आग्रह गरे। “म झुटो बोल्दिन, सुदूरपश्चिम र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैको शिर ठाडो हुने गरी काम गर्नेछु,” उनले भने।

उनका अन्य प्रतिबद्धताहरूमा पार्टीको अक्षयकोष स्थापना, विज्ञ समिति गठन, सुदूरपश्चिमको छुट्टै वेबसाइट निर्माण, बिमा सुविधा, जिल्लाहरूमा व्यवस्थित कार्यालय, निःशुल्क स्वास्थ्य उपचारका लागि पहल, स्मार्ट पार्टी कार्यालय, रोजगारीका लागि सबै जिल्लामा ‘घण्टी मार्ट’ स्थापना र समावेशी प्रदेश समिति निर्माण रहेका छन्। पन्त सञ्चार उद्यमी (टिभी टुडेका सञ्चालक) समेत हुन्।

ताजा समाचार