कैलाली । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने तयारी तीव्र पारिएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुल दुई अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै यो तयारीले गति लिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त रकम सुनिश्चित गरिएको हो। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का सङ्घीय सांसद खेमराज कोइरालाका अनुसार गेटामा विश्वविद्यालय सञ्चालनका लागि सरकारले एक अर्ब ७१ करोड ८७ लाख रुपैयाँ र विश्वविद्यालय अनुदान आयोगमार्फत थप ८१ करोड ४९ लाख ८४ हजार रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्रीले आवश्यक परेमा थप बजेटसमेत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालनलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको सांसद कोइरालाले उल्लेख गरे।
विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि एमबिबिएसमा ५०, बीएससी नर्सिङमा ३०, बीएससी एमएलटीमा २० र बी अप्टोमेट्रीमा २० सिटमा अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य राखेको छ। यी शैक्षिक कार्यक्रम सञ्चालनका लागि सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई विश्वविद्यालयसँग आबद्ध गर्ने तयारीसमेत गरिएको छ।
लामो समयदेखिको माग सम्बोधन गर्दै सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि स्थानीयवासी तथा सरोकारवालाहरूले खुसी व्यक्त गरेका छन्। सांसद कोइरालाले बजेट सुनिश्चित भइसकेकाले अब यसको सफल कार्यान्वयनमा सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए। विश्वविद्यालय सञ्चालनमा आएसँगै सुदूरपश्चिम क्षेत्रमै उच्च चिकित्सा शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।



