वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएपछि विवाद

प्रकाशित मिति:

कैलाली । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानी क्षेत्रमा राजमार्ग किनाराको अतिक्रमण हटाउने क्रममा वन कर्मचारी र स्थानीयबीच विवाद भएको छ। सो क्रममा सडक छेउमा खुद्रा सामान बिक्री गर्न राखिएको एउटा पुरानो टेम्पो सडकबाट भिरमा खसालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना चर्चामा आएको छ।

उक्त टेम्पोलाई स्थानीय धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर आफ्नो जीविकोपार्जनको माध्यम बनाएकी थिइन्। पीडित धामीका अनुसार कर्मचारीहरूले टेम्पोभित्र रहेका सामान झारिसकेपछि आफूले उक्त टेम्पो घर लैजान्छु भन्दाभन्दै पनि त्यसलाई बेवास्ता गरेर जबरजस्ती सडकबाट भिरमा खसालिदिएका हुन्। सडक किनाराको व्यवसायमा क्षति पुगेपछि पीडित परिवारले चिन्ता व्यक्त गरेको छ।

यता, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने उक्त टेम्पो वन तथा सडक क्षेत्र अतिक्रमण गरेर राखिएको र हटाउनका लागि विगत पुस महिनादेखि नै पटक–पटक आग्रह गरिएको दाबी गरे। सडकमा चलाउन नमिल्ने उक्त पुरानो सवारी साधनलाई पसलका रूपमा प्रयोग गरिएको र हटाउन पुगेका कर्मचारीमाथि स्थानीयस्तरबाट गालीगलौज भएपछि आवेशको स्थिति सिर्जना भई उक्त घटना हुन पुगेको वन कार्यालयको तर्क छ।

वन कार्यालयका अनुसार राजमार्ग क्षेत्र सुरक्षित र अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचनाहरू हटाइसकिएको छ। राजमार्ग व्यवस्थापन गर्ने सरकारी नीति र सर्वसाधारणको दैनिक जीविकोपार्जनको संवेदनशीलताबीच कसरी सन्तुलन मिलाउने भन्ने विषयमा यतिबेला स्थानीयस्तर र सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

ताजा समाचार