काठमाडौं । काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नवयुवा पुस्ताका लागि ‘जेन जेड र जेन अल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।
नीति तथा कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र शहीद परिवार लगायत पछाडि परेका समुदायका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। यस्तै, ‘एक वडा एक नमुना कार्यक्रम’ लाई संस्थागत गरिने र ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’ मार्फत घरमै निःशुल्क स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराइने जनाइएको छ। महानगरले ७५ वर्ष पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने नीति पनि अघि सारेको छ।
‘मानवीयताको सहर’ भन्ने मूल सन्देशलाई कार्यान्वयन गर्न महानगरपालिकाले आधुनिक तथा परम्परागत ज्ञान, सीप र कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध मिलाउने भएको छ। वातावरण र जैविक विविधता संरक्षणअन्तर्गत महानगर क्षेत्रका टोल, विद्यालय, पार्क र समुदायमा चराचुरुङ्गीमैत्री अभ्यास सञ्चालन गर्दै पानी उपलब्ध गराउन पानी पात्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।



