महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा पूर्ण रूपमा रोक लगाएका छन्। ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) अनुसार हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था छ। सोही कानुनी व्यवस्था कार्यान्वयन गर्दै यहाँका स्थानीय तहहरूले रोक लगाएका हुन्।
भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सबै नदी, खोला तथा नालाबाट नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, ढुवानी र निकासी कार्य बन्द गरेका छन्। वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण गर्न, सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण गर्न र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले कानुनी व्यवस्थाअनुसार नगरपालिका क्षेत्रभित्रका महाकालीसहित सबै नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक लगाइएको बताए। यो अवधिमा कुनै पनि व्यक्ति वा कम्पनीले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन वा ओसारपसार गर्न नपाउने र यसबारे सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी गराइसकिएको उनले स्पष्ट पारे। वर्षायाम सुरु भएसँगै यो व्यवस्था लागू गरिएकाले नदीजन्य स्रोतको संरक्षण, नदीको प्राकृतिक स्वरूप कायम राख्न तथा बाढीजन्य जोखिम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, बेदकोट नगरपालिकाले पनि सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट कुनै पनि प्रकारका नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी तथा बिक्री वितरण गर्न नपाइने जनाएको छ। सूचनामा उक्त अवधिभित्र कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन, सङ्कलन वा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख छ। बर्सेनि वर्षायाममा लागू हुने यो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको संरक्षण र प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



