काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलले गरेका सैन्य हमलाहरूको कडा आलोचना गरेका छन्। जी–७ शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नीतिको विरोध गर्दै लेबनानमा गरिएका आक्रमणहरूलाई ‘अनावश्यक’ संज्ञा दिएका हुन्।
अमेरिका र इरानबीच शान्ति सम्झौताको वार्ता भइरहेकै समयमा इजरायलले बेरुतमा आक्रमण गरेको प्रति असन्तुष्टि जनाउँदै ट्रम्पले इजरायलले हिजबुल्लाहसँग आवश्यकताभन्दा लामो समयदेखि लडिरहेको र यसबाट सर्वसाधारणको ज्यान गइरहेको बताए। उनले पूरा क्षेत्र ध्वस्त पार्नु बुद्धिमानी नभएको उल्लेख गर्दै इजरायलले यो काम गर्न नसके हिजबुल्लाहसँग लड्ने जिम्मा सीरियालाई दिनुपर्ने जिकिर समेत गरे। आफूले विगतमा इजरायलका लागि ऐतिहासिक काम गरेको स्मरण गराउँदै ट्रम्पले प्रधानमन्त्री नेतन्याहु अब लेबनानको मामिलामा अझ बढी जिम्मेवार हुन आवश्यक रहेको औँल्याए।
पछिल्लो समय अमेरिका र इरानबीचको सम्झौता प्रयासलाई लिएर अमेरिका र इजरायलबीचको सम्बन्धमा चिसोपन देखिएको छ। इरानसँग वार्ता चलिरहँदा इजरायलले लेबनानमा लगातार हमला गरेपछि ट्रम्पले फोनमार्फत समेत नेतन्याहुलाई सचेत गराएको चर्चा छ। मध्यपूर्व संकट समाधानका लागि लेबनानमा शान्ति अनिवार्य रहेको भन्दै अमेरिकी राष्ट्रपति इजरायलको सैन्य रणनीतिप्रति आक्रामक बनेका हुन्।



