काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जेठ महिनाको आफ्नो संस्थागत प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार प्रहरीले यस महिना लागुऔषध ओसारपसार नियन्त्रण र सीमावर्ती क्षेत्रबाट हुने भन्सार छली नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ।
प्रहरीले जेठ महिनामा मात्रै लागुऔषध सम्बन्धी १९ वटा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। सो क्रममा लागुऔषध कारोबारमा संलग्न ३६ जना पुरुष अभियुक्तहरू पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २७.७८ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) र ५.९० ग्राम चरेस बरामद गरेको छ। यस महिना गाँजा बरामदको संख्या भने शून्य रहेको प्रहरीले जनाएको छ।
यसका साथै कञ्चनपुर प्रहरीले जेठ महिनामा जिल्लाका विभिन्न स्थानबाट अन्दाजी २४ हजार ६ सय रुपैयाँ बराबरको अवैध घरेलु तथा भन्सार छलीको मदिरा समेत बरामद गरी नष्ट गरेको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि र लागुऔषधको सञ्जाल भत्काउन प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



