कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति झन्डै १३ प्रतिशत पुगेको छ। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा एक वर्षअघि सुरु भएको यस आयोजनाको हालसम्म १२.८५ प्रतिशत भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिए। उनका अनुसार अहिले बन्दरगाह क्षेत्रमा टर्मिनल, भन्सार भवन, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माणलगायतका संरचना बनाउने काम भइरहेको छ।
कुल ३० महिनाको तोकिएको अवधिभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको यस परियोजनाको निर्माण लागत भारतीय रुपैयाँ दुई अर्ब ३७ करोड छ। बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। कुल ४२.३६ हेक्टर क्षेत्रफलमा फैलिने यस सुक्खा बन्दरगाहभित्र दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागमन र सुरक्षा भवनलगायतका पूर्वाधार निर्माण हुनेछन्।
बन्दरगाहका लागि नेपालतर्फ सुक्खा बन्दरगाहसम्म छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ भने भारतले आफ्नोतर्फ पहुँचमार्ग निर्माण गरिरहेको छ। यो सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिम क्षेत्रमा थप विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ।



