कञ्चनपुर । वर्षायाममा छानाबाट चुहिने पानी थाप्दै अनिँदो रात काट्नुपर्ने र हुरी तथा विषालु किराको डरैडरमा जीर्ण कच्ची झुपडीमा बस्नुपर्ने शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्ति टोलका मुक्तकमैया परिवारको कष्टकर अवस्था अब फेरिने भएको छ। वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार र कनेक्ट परियोजनाको संयुक्त लगानीमा यस विपन्न बस्तीमा सुरक्षित पक्की आवास निर्माण सुरु भएसँगै स्थानीयको सुरक्षित घरमा बस्ने सपना साकार हुन थालेको हो।
मुक्तकमैया समुदायको बाहुल्यता रहेको मुक्ति टोलमा करिब तीन सय परिवारको बसोबास छ। वर्षौंदेखि विपन्नता र असुरक्षित बसोबासको समस्या झेल्दै आएका परिवारका लागि पहिलो चरणमा १५ वटा पक्की सुरक्षित आवास निर्माण भइरहेका छन्। एउटै डिजाइनमा बनिरहेका प्रत्येक घरमा दुई कोठा, भान्सा तथा शौचालयको व्यवस्था गरिएको छ। विगतको पीडा सम्झँदै स्थानीय गुजेश्वरी वडायकले भनिन्, “मजदुरी गरेर परिवार पाल्दै आएका हामीलाई सुरक्षित आवासको कुरा सपनाजस्तै लाग्थ्यो, अहिले त्यो सपना विस्तारै पूरा हुँदै गएको छ।” अर्की स्थानीय कल्पना चौधरीले पनि सुरक्षित पक्की घर बन्न थालेपछि अब ढुक्क भएर बस्न पाइने आशा जागेको बताइन्।
वित्तीय साझेदारीअन्तर्गत वडा कार्यालयको १ लाख ४५ हजार, प्रदेश सरकारको ३ लाख ५ हजार, कनेक्ट परियोजनाको १ लाख २० हजार तथा उपभोक्ताको १ लाख ६२ हजार गरी प्रतिघर ७ लाख ३२ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर लोकेन्द्र भट्टले जानकारी दिए। उनका अनुसार हालसम्म आवास निर्माणको करिब ७५ देखि ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। मुक्ति टोललाई व्यवस्थित र नमुना गाउँका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको वडा अध्यक्ष लालबहादुर ऐरले बताए। हरेक वर्ष बजेट व्यवस्थापन गर्दै क्रमशः बाँकी रहेका सबै परिवारका लागि पक्की घर निर्माण गर्दै जाने नीति लिइएको जानकारी उनले दिए।



