दार्चुला । दार्चुलाका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन् । सङ्घीय र प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेपछि यहाँका नौवटै स्थानीय तहले पनि असार १० गतेभित्रै बजेट ल्याउने गरी तयारी तीव्र पारेका हुन् । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र गाउँ तथा नगर सभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ ।
जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा चाँडो मार्मा गाउँपालिकाले असार ६ गते गाउँ सभाको १९ औँ अधिवेशनमार्फत नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिलाकुमारी चन्द सिंहका अनुसार पुरानै कार्यक्रमको निरन्तरता र केही नयाँ योजना थपेर बजेट ल्याइनेछ । यस्तै, नौगाड गाउँपालिकाले सुदूरपश्चिम प्रदेश, गाउँ सभा र नगर सभा कार्य सञ्चालन ऐन, २०७५ बमोजिम असार ८ गते नै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको उपाध्यक्ष जगतसिंह ठगुन्नाले बताए ।
यसैगरी, दुहुँ गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने कार्यतालिका बनाएको उपाध्यक्ष शान्ति बमले जानकारी दिइन् । लेकम गाउँपालिकाले सङ्घ र प्रदेशबाट बजेटको अन्तिम सिलिङ प्राप्त नभए पनि असार १० भित्रै बजेट ल्याउने गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता सुरेशसिंह थापाले बताए । अपिहिमाल गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको र असार ५ गते बस्ने कार्यपालिका बैठकले बजेटको मिति तय गर्ने उपाध्यक्ष देवकीदेवी बोहोराले जानकारी दिइन् ।
उता व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले पनि बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् भने मालिकार्जुन गाउँपालिकाले असार १० गते बजेट ल्याउने तयारी गरेको उपाध्यक्ष कल्याणसिंह धामीले जानकारी दिए । जिल्लाको शैल्यशिखर नगरपालिका र सदरमुकाममा रहेको महाकाली नगरपालिकाले पनि असार १० गते नै बजेट ल्याउने तयारी गरिरहेका छन् । शैल्यशिखरका उपप्रमुख शान्ति खडायतका अनुसार पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्षकै हाराहारीमा बजेट आउनेछ भने महाकालीका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले पुराना योजनाका साथै केही नयाँ कार्यक्रमहरूलाई समेटेर बजेट ल्याइने जानकारी दिइन् ।



