काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) छपाइमा भएको अनियमितता प्रकरणको अनुसन्धानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगको टोलीले गत मङ्गलवार बूढानीलकण्ठस्थित देउवा निवासमा पुगी बयानका लागि उपस्थित हुने सम्बन्धी म्याद तामेलीको सूचना टाँसेको हो।
आयोगद्वारा जारी सूचना अनुसार, सूचना बुझेको वा घरदैलोमा टाँस भएको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र टङ्गालस्थित आयोगको कार्यालय (महाशाखा नं. १२, कोठा नं. १२) मा बयानका लागि उपस्थित हुन निर्देशन दिइएको छ। तोकिएको समयावधिभित्र उपस्थित नभए कानुन बमोजिम प्रक्रिया अघि बढाइने समेत व्यहोरा सूचनामा उल्लेख छ।
नेपाल सरकार वादी रहेको राहदानी छपाइ सम्बन्धी उक्त उजुरीमा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा आयोगले अनुसन्धान प्रक्रियालाई तीव्र पारेको हो। यसै सिलसिलामा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित केही कर्मचारीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ भने सम्बन्धित ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई समेत बयानका लागि झिकाइएको छ।



