कञ्चनपुरमा खेलकुद पूर्वाधार विकास तीव्र: रङ्गशालादेखि कवर्डहलसम्मलाई बजेट

प्रकाशित मिति:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कञ्चनपुरको खेलकुद विकासलाई विशेष प्राथमिकतामा राखेको छ। बजेटमा दोधारा चाँदनीमा मिनी स्टेडियमका लागि रु एक करोड र फुटसल मैदानका लागि रु ३० लाख ४० हजार विनियोजन गरिएको छ। यस्तै, कञ्चनपुर फुटबल सङ्घको भवन निर्माणमा रु ५३ लाख २० हजार, बेदकोटमा गौँडी खेल मैदानका लागि रु ३८ लाख तथा कराते हल निर्माणका लागि रु २२ लाख ८० हजार छुट्याइएको छ।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार महेन्द्रनगरमा इन्डोर क्रिकेट हलका लागि रु १९ लाख र कबड्डी हल मर्मतका लागि रु १५ लाख २० हजार विनियोजन भएको छ। यसका साथै ब्याडमिन्टन, बक्सिङ, कुस्ती र विभिन्न स्थानीय खेल मैदानका लागि पनि बजेट व्यवस्था गरिएको छ।

यसैबीच, कवर्डहल परिसरको क्रिकेट मैदानका लागि सङ्घीय सरकारबाट रु तीन करोड तथा बहुउद्देश्यीय कवर्डहलका लागि प्रदेशबाट थप रु एक करोड ५० लाख बजेट प्राप्त भएको छ। हाल कवर्डहल परिसरमा हक्की मैदान र बक्सिङ हल मर्मतको काम चलिरहेको छ भने एथ्लेटिक्स ट्र्याक निर्माणको गृहकार्य पनि सुरु भएको छ। खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले सामाजिक विकास मन्त्रालयलाई यो बजेट तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।

ताजा समाचार