कक्षा १२ को परीक्षाफल सार्वजनिक: नियमिततर्फ करिब ७० प्रतिशत उत्तीर्ण

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो।

सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ नियमित परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। त्यस्तै, नियमिततर्फका ३०.२५ प्रतिशत अर्थात् १ लाख ४ सय ७१ परीक्षार्थीले ‘एनजी’ (नट ग्रेडेड) को सामना गरेका छन्।

नियमित र आंशिक गरी यसपटक कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी थिए। जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जना सफल भएका छन्। समग्रमा दुवैतर्फ गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन्। परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

कुन जीपीएमा कति विद्यार्थी?

बोर्डका अनुसार यस वर्ष २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै छ। जीपीए अनुसार उत्तीर्ण विद्यार्थीको विवरण यस प्रकार छ:

जीपीए रेन्जविद्यार्थी सङ्ख्या
३.६१ देखि ४.०१७,७८६ जना
३.२१ देखि ३.६०६४,८२१ जना
२.८१ देखि ३.२०९४,२४९ जना
२.४१ देखि २.८०५०,५९७ जना
२.०१ देखि २.४०४,३०८ जना
१.६१ देखि २.००९ जना

मौका परीक्षाको व्यवस्था

सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउनुपर्ने बोर्डको नियम छ। सोभन्दा कम अङ्क ल्याई बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउनेछन्। पूरक परीक्षाको समयतालिका बोर्डले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट तथा एसएमएस सेवामार्फत हेर्न सक्नेछन्।

ताजा समाचार