काठमाडौं । प्रतिनिधिसभाले स्वीकृत गरेको केही समयमै राष्ट्रिय सभाले पनि सरकारद्वारा जारी गरिएका चार वटा महत्त्वपूर्ण अध्यादेशहरूलाई स्वीकृत गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गरिएका थिए। बैठकले ती सबै अध्यादेशहरूलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति नरहे पनि सभाले यी अध्यादेशहरू पारित गरेसँगै सरकारका लागि अब अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने कानुनी बाटो खुला भएको छ। सरकारले सङ्घीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि विभिन्न ८ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू संसद् अधिवेशन सुरु भएकै दिन गत वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनमा पेस गरिएका थिए।



