जियो प्लेटफर्म्सको आईपीओ प्रक्रिया अघि बढाउने मुकेश अम्बानीको घोषणा

प्रकाशित मिति:

काठमाडौं । रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) का अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले डिजिटल सेवा कम्पनी जियो प्लेटफर्म्सको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्। कम्पनीको ४९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अम्बानीले जियो प्लेटफर्म्सले भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) समक्ष आईपीओसम्बन्धी प्रारम्भिक कागजात (डीआरएचपी) पेस गर्ने जानकारी दिएका हुन्।

रिलायन्स इन्डस्ट्रिजले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत सार्वजनिक गरेको वक्तव्यअनुसार जियो प्लेटफर्म्सको सञ्चालक समितिले डीआरएचपीलाई स्वीकृति दिइसकेको छ र उक्त कागजात सेबीमा दर्ता गरिनेछ।

अम्बानीले भने, “जियो प्लेटफर्म्सको बोर्डले डीआरएचपीलाई अनुमोदन गरिसकेको छ र आज सेबीमा पेस गरिनेछ। यो मेरो, सम्पूर्ण रिलायन्स परिवार र लाखौँ सेयरधनीका लागि अत्यन्त भावुक क्षण हो।” उनले रिलायन्स र यसका सेयरधनीबीचको सम्बन्ध गर्व, विश्वास, सम्मान र साझा प्रगतिमा आधारित गहिरो तथा पवित्र भएको बताए।

जियो प्लेटफर्म्स रिलायन्स समूहको डिजिटल सेवा व्यवसाय सञ्चालन गर्ने प्रमुख कम्पनी हो, जसअन्तर्गत दूरसञ्चार, डिजिटल प्रविधि तथा विभिन्न अनलाइन सेवाहरू समेटिएका छन्। यस कम्पनीको आईपीओलाई भारतीय पुँजी बजारकै इतिहासमा सबैभन्दा ठूलो सार्वजनिक निष्कासनमध्ये एक मानिएको छ।

ताजा समाचार