कैलाली । कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा भिरबाट टेम्पो खसालिएको चर्चित घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। घटनापछि क्षतिपूर्ति दाबी गरेकी धनादेवी धामीको नाममा उक्त टेम्पो दर्ता नरहेको खुलेपछि यो प्रकरणले नयाँ मोड लिएको हो।
प्राप्त कागजातअनुसार गरिमा विकास बैंकबाट फाइनान्स गरिएको उक्त टेम्पो गेटा–५ निवासी कृष्णकुमार थापाको नाममा दर्ता रहेको पाइएको छ। धामी पक्षले क्षतिपूर्ति माग गरे पनि गाडीको स्वामित्व पुष्टि गर्ने आधिकारिक प्रमाण पेश गर्न नसकेको स्रोतले जनाएको छ। दुवै पक्षबीच मिलापत्र गराउने प्रयासका क्रममा कागजात माग्दा आवश्यक प्रमाण फेला नपरेको लेखापढी व्यवसायी भोजराज जोशीले बताए।
यही घटनाको उजुरीका आधारमा प्रहरीले सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फुलारालाई नियन्त्रणमा लिएको थियो। उनीहरू हाल पनि प्रहरी हिरासतमा छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गाडी कसको हो भन्ने विषयमा थप बुझ्नुपर्ने अवस्था रहेको र स्वामित्व स्पष्ट हुन बाँकी रहेको बताए।
उता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामबिचारी ठाकुरले स्वामित्व नै पुष्टि नभएको अवस्थामा जाहेरीकै भरमा कर्मचारीले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरे। जिल्ला प्रशासनको निर्णयअनुसार प्रहरीकै उपस्थितिमा वन अतिक्रमण हटाउने क्रममा भिडभाडका बीच दुर्घटनावश टेम्पो खस्न पुगेको उनको भनाइ छ। ठाकुरले घटनालाई अतिरञ्जित गरेर कर्मचारीको मनोबल गिराउने काम भएको भन्दै चुरे संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
गाडीको कानुनी हैसियत र स्वामित्वको पर्याप्त प्रमाणीकरण नगरी सरकारी कर्मचारीलाई हिरासतमा राखिएको भन्दै अहिले प्रहरी प्रशासनको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ।



