प्रधानाध्यापक धामी मृत्यु प्रकरण: पक्राउ परेका आठै जना कारागार चलान

प्रकाशित मिति:

दार्चुला ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका सबै आठ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार सबै प्रतिवादीहरूलाई मुद्दाको किनारा नलाग्दासम्म थुनामा राख्ने आदेश दिएको हो। अदालतका अनुसार हाललाई उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाइनेछ भने अन्तिम फैसला प्रमाण र साक्षीहरूको विस्तृत परीक्षणपछि मात्र हुनेछ। पुर्पक्षका लागि कारागार चलान हुनेहरूमा महाकाली नगरपालिका–१ का विक्रमसिंह कुँवर, महाकाली–२ का दलजित भट्ट, महाकाली–५ का खिमानन्द भट्ट, ब्यास गाउँपालिका–४ का परमानन्द भट्ट र पदमराज भट्ट रहेका छन्। त्यस्तै नरेन्द्रदत्त भट्ट, हरिदत्त भट्ट तथा बैतडीको पाटन नगरपालिका–४ का पुष्करराज भट्टलाई पनि कारागार पठाइएको छ।

प्रधानाध्यापक धामी गत जेठ ४ गते विद्यालय परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। मृत्यु हुनुअघि उनले सामाजिक सञ्जालमा एक लामो ‘सुसाइड नोट’ लेख्दै आफ्नो मृत्युको कारण र केही व्यक्तिहरूको नाम उल्लेख गरेको बताइएको छ। घटनापछि दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गर्दै स्थानीय बासिन्दा तथा पीडित पक्षले जिल्लामा निरन्तर धर्ना र आन्दोलन गर्दै आएका थिए। अदालतको यो आदेशसँगै पीडित पक्षले कानुनी न्यायको प्रक्रिया अघि बढेको महसुस गरेका छन् भने प्रहरीले घटनासँग जोडिएका अन्य पक्षबारे पनि सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार