धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले बजेट प्रस्तुत गर्दै चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्। बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक आयबाट ५५ करोड १० लाख, राजस्व बाँडफाँडबाट ६० करोड ४५ लाख, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ६ करोड, प्रदेश सरकारबाट १४ करोड २२ लाख तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। उपप्रमुख रानाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा अनुमानित बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब ७७ करोड प्राप्त भई १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ। बजेट प्रस्तुत गर्नुअघि उपप्रमुख रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेकी थिइन्।
आगामी वर्षको बजेटमा उपमहानगरपालिकाले वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण, ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक शिक्षा, नगर गौरवका आयोजना, दिगो पूर्वाधार विकास, सीप तथा रोजगार मेला, सडक बत्ती व्यवस्थापनसँगै मध्यकालीन बजार र रात्रिकालीन पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, आमा बचाउ, ग्रासरुट फुटबल र क्रिकेट विकास तथा शुक्रबारीय सीप विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ। हाम्रो धनगढी सफा धनगढी, उज्यालो धनगढी, जहाँ खाली त्यहाँ हरियाली, र हर घडी नगर प्रहरी जस्ता पुराना अभियानले आगामी वर्ष पनि निरन्तरता पाउने भएका छन्। यसैगरी, आगामी आर्थिक वर्षदेखि हाल फूलबारी-धनगढी-अत्तरिया रुटमा मात्र चलिरहेको नगर बस सेवालाई विस्तार गरेर कनरी-रामपुर-चौमाला, पथरी-बनबेहडा, बेली-जुगेडा र घोडसुवा-स्याउले रुटमा समेत सञ्चालन गरिने बजेटमा उल्लेख छ।



