चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधि, नीति र संस्थागत प्रणालीमा आधारित सरकार सञ्चालन गर्ने लक्ष्यका साथ आफूहरू राजनीतिमा आएको बताएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले आफ्नो पार्टी पुरानो पुस्तासँग लड्न नभई मुलुकमा नयाँ राजनीतिक संस्कार स्थापना गर्न उदाएको स्पष्ट पारेका छन्। मुलुकमा अहिले जिम्मेवार, पारदर्शी र परिणाममुखी राजनीतिक अभ्यासको खाँचो रहेको औंल्याउँदै उनले राजनीतिलाई व्यक्तिकेन्द्रित नभई नीति र थितिमा आधारित बनाउनुपर्नेमा जोड दिए।
उपन्यास र विरोधको राजनीतिले मात्र देश नबन्ने उल्लेख गर्दै डा. वाग्लेले नयाँ पुस्ताले केवल विरोध मात्र गर्ने नभई देशलाई सही दिशा दिन सक्ने क्षमता समेत राख्छ भन्ने प्रमाणित गर्न रास्वपा प्रतिबद्ध रहेको बताए। युवापुस्ताको ऊर्जा, सीप र नवीन सोचलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपाललाई सुशासन, आर्थिक समृद्धि र संस्थागत सुधारको बाटोमा अघि बढाउन रास्वपाले राजनीतिक रूपान्तरणको अभियान अघि सारेको दाबी गरे। मुलुकलाई नयाँ दिशा दिन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै शासन प्रणाली, सार्वजनिक सेवा प्रवाह र विकासको सोचमा समेत आमूल रूपान्तरण आवश्यक रहेको धारणा व्यक्त गरे।



