जनमत अध्यक्ष डा. राउतद्वारा प्रधानमन्त्री शाहको कार्यशैली र लोकप्रियताको प्रशंसा

प्रकाशित मिति:

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैली, लोकप्रियता र युवा नेतृत्वको तीव्र प्रशंसा गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले प्रधानमन्त्री शाहको व्यक्तित्व र कार्यक्षमता विशिष्ट तहको रहेको उल्लेख गर्नुभएको हो। समारोहमा मन्तव्य राख्ने क्रममा उहाँले प्रधानमन्त्री शाह युवा, बौद्धिक र साहसी हुनुका साथै उहाँको कार्यशैली ‘स्टाइलिस’ रहेको बताउनुभयो। प्रधानमन्त्रीले पहिरिने विशिष्ट कालो पोसाकको चर्चा गर्दै उहाँले भारतीय अभिनेता देवानन्दसँग तुलना गर्नुभयो। “जसरी विगतमा भारतमा देवानन्दलाई कालो पोसाक लगाउन निषेध गरिएको चर्चा चल्थ्यो, हाम्रो देशमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नदिने कानुन ल्याउन माग गरे भने अचम्म नमाने हुन्छ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री शाहलाई हिमाल, पहाड र मधेसका सम्पूर्ण नेपाली जनताले अगाध माया गरेको उल्लेख गर्दै अध्यक्ष डा. राउतले यस्तो जनविश्वास इतिहासमै विरलै देखिने टिप्पणी गर्नुभयो। हामीले अत्यन्तै ‘स्मार्ट’ र दूरदर्शी युवा प्रधानमन्त्री पाएको चर्चा गर्दै उहाँले प्रधानमन्त्री शाह समस्यामा अल्झिनेभन्दा पनि समस्याभन्दा माथि उठेर समाधानको खोजी गर्ने उच्च तहको नेतृत्व भएको बताउनुभयो। मधेसको छोरालाई प्रधानमन्त्रीको रूपमा अघि सारेर नयाँ राजनीतिक मानक स्थापित गरेकोमा उहाँले रास्वपा नेतृत्वलाई धन्यवाद समेत दिनुभयो। अध्यक्ष डा. राउतले रास्वपाले अघि सारेको देश विकास र समृद्धिको सपना र आफ्नो पार्टीको उद्देश्य मिल्दोजुल्दो रहेको स्पष्ट पार्नुभयो। देश बनाउने र नागरिकको जीवनस्तर सुधार्ने साझा सङ्कल्पका कारण आफू महाधिवेशनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै उहाँले रास्वपा र जनमत पार्टीबीच कुनै राजनीतिक प्रतिस्पर्धा नरहेको र दुवै दल समृद्ध नेपाल निर्माणको यात्रामा सहयात्रीका रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ताजा समाचार