काठमाडौं । देशभर वैशाख २ गतेदेखि सुरु भएको ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ को स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै गणनाको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएको हो। कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नाराका साथ देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र निकाल्न यो गणना गरिएको हो। आगामी चार महिनाभित्र डाटा कोडिङ र इन्ट्रीको काम सकेर ६ महिनादेखि गणनाको नतिजा क्रमशः सार्वजनिक गर्ने कार्यालयको योजना छ।
यस गणनाको मुख्य उद्देश्य उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक सङ्घ–संस्थाको सङ्ख्या, भौगोलिक वितरण, रोजगारी र उत्पादनको विवरण सङ्कलन गर्नु रहेको लामिछानेले बताए। यो तथ्याङ्कले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमानलाई सुदृढ गर्न, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्न र सरकारको नीति निर्माण तथा योजना तर्जुमाका लक्ष्य मापन गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। यस राष्ट्रिय आर्थिक गणना कार्यमा देशैभर ३ हजार ९०७ गणक, ५२६ सुपरिवेक्षक, ५०४ जिल्लास्तरीय व्यवस्थापन टोली र ५३ केन्द्रीय व्यवस्थापन समूह परिचालन भएका थिए।



