बजेट नसच्चिए सरकार छाड्ने एमाले सुदूरपश्चिमको चेतावनी

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति कडा असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नभएको निष्कर्ष निकाल्दै बजेटमा तत्काल सुधार गर्न माग गरेको हो। प्रदेश उपसचिव तथा प्रचार–प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा बजेट एकतर्फी ढङ्गले ल्याइएको र संयुक्त सरकारको मर्म विपरीत रहेको भन्दै संसदीय दललाई आवश्यक कदम चाल्न निर्देशन दिइएको छ।

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा धनगढीमा सम्पन्न बैठकले संघीय बजेटमा समेत सुदूरपश्चिम, विपन्न वर्ग र दुर्गम क्षेत्रलाई उपेक्षा गरिएको भन्दै थप बजेट माग गरेको छ। यसैगरी बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै त्यसलाई रेकर्डबाट हटाउन माग गरेको छ भने नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा सीमा स्तम्भ भत्काइएको घटनाको विरोध गर्दै भारत सरकारलाई कूटनीतिक नोट पठाउन माग गरेको छ। समयमा मल उपलब्ध नभएकोप्रति चिन्ता व्यक्त गर्दै किसानलाई सहज रूपमा मल दिलाउन र केही मन्त्रीका आपत्तिजनक अभिव्यक्ति सुधार्न आग्रह गर्दै बैठकले हालै धनगढी आएका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेतृत्वलाई धन्यवाद समेत ज्ञापन गरेको छ।

ताजा समाचार