कैलाली । कैलालीको धनगढीमा मंगलबार राति दुई जना पुरुषमाथि अपरिचित समूहले कुटपिट गरेको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित रोड हाउस क्याफे नजिकै स्थानीय ३८ वर्षीय सन्तोष श्रेष्ठ र ३१ वर्षीय सानु श्रेष्ठमाथि आक्रमण भएको हो।
प्रहरीका अनुसार राति करिब ९ः३० बजे ३–४ जनाको संख्यामा रहेका अज्ञात व्यक्तिहरूको समूहले उनीहरूमाथि कुटपिट गरेको थियो। आक्रमणबाट दुवै जनाको टाउकोमा चोट लागेको छ। घाइते श्रेष्ठद्वयको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको र हाल उनीहरूको अवस्था सामान्य रहेको छ।
घटनालगत्तै आक्रमणकारीहरू फरार भएका थिए। प्रहरी चौकी त्रिनगरका प्रहरी वरिष्ठ नायब निरीक्षक रामसिंह बोहराको कमाण्डमा खटिएको टोलीले फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



