काठमाडौैं । नेपाल प्रहरीका कर्मचारीले अबदेखि महिनामा दुई पटक तलबभत्ता पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै १५–१५ दिनको अन्तरालमा अर्धमासिक रूपमा तलबभत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको हो।
अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा प्रहरी मुख्यालयले यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।
नयाँ व्यवस्थाअनुसार प्रहरी कर्मचारीले खाइपाइ आएको मासिक तलब अब एकैपटक नभई दुई किस्तामा प्राप्त गर्नेछन्। यस अर्धमासिक भुक्तानी प्रणालीले प्रहरी कर्मचारीहरूको आर्थिक व्यवस्थापनलाई थप सहज र व्यावहारिक बनाउने अपेक्षा प्रहरी प्रधान कार्यालयले लिएको छ। आवश्यक प्रक्रिया पूरा गरी यस प्रणालीलाई तत्कालै कार्यरूप दिन मातहतका सम्पूर्ण कार्यालयहरूलाई निर्देशित गरिएको छ।



