काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशका स्थानीय तहहरूलाई साढे ६ अर्ब रुपैयाँभन्दा बढी वित्तीय हस्तान्तरण गरेको छ। सरकारले समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा कुल ६ अर्ब ६० करोड रुपैयाँ तल्लो तहमा पठाएको हो।
आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीका अनुसार स्थानीय तहबाटै कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि सबैभन्दा बढी सशर्त अनुदानतर्फ ४ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, वित्तीय समानीकरण अनुदानतर्फ ९१ करोड ८० लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरिएको छ।
त्यसैगरी, समपूरक अनुदानतर्फ ८१ करोड ४४ लाख रुपैयाँ र विशेष अनुदान शीर्षकमा ४९ करोड ५० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराइएको छ।
विषयगत मन्त्रालयहरूबाट प्रस्तावित सशर्त अनुदानअन्तर्गतका कार्यक्रम तथा बजेट वित्तीय हस्तान्तरणकै माध्यमबाट स्थानीय तहमा पठाउने व्यवस्था मिलाइएको मन्त्री धामीले जानकारी दिए। सशर्त अनुदानका कार्यक्रम हस्तान्तरण र त्यसको कार्यान्वयनसम्बन्धी आवश्यक व्यवस्था विनियोजन विधेयकमा समेटिएको सरकारको भनाइ छ।



