कांग्रेस १५ औँ महाधिवेशन: सदस्यता वितरणका लागि ७७ जिल्लामा प्रतिनिधि खटिए

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई लक्षित गरी नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार यो कदम चालिएको हो।

यस पटक नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने रणनीति कांग्रेसले लिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार तोकिएका केन्द्रीय प्रतिनिधिहरू २०८३ साल असार ७ गतेदेखि असार २० गतेसम्म आ-आफ्नो जिम्मेवारी तोकिएको जिल्लामा उपस्थित भई समन्वय तथा सहजीकरण गर्नेछन्।

कांग्रेसद्वारा जारी विज्ञप्ति अनुसार, ७७ वटै जिल्लामा केन्द्रीय सदस्य, सह-महामन्त्री तथा भ्रातृ संस्थाका प्रमुखहरूलाई जिम्मेवारी सुम्पिएको छ। जसअन्तर्गत सुदूरपश्चिमका कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू र कैलालीमा मधु आचार्य खटिएका छन् भने बाग्मती प्रदेशको काठमाडौँमा सह-महामन्त्री उदयशमशेर राणा र भक्तपुरमा राजेन्द्रकुमार के.सी.लाई जिम्मेवारी दिइएको छ। त्यसैगरी कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लाहरूमा पनि प्रतिनिधिहरू खटाइसकिएको पार्टी मुख्यालयले जनाएको छ।

ताजा समाचार