विद्यार्थी कुटपिटको आरोपमा बैतडीका एक प्रधानाध्यापक पक्राउ

प्रकाशित मिति:

बैतडी । बैतडीमा एक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। पुर्चौंडी नगरपालिका–९, तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रधानाध्यापक भण्डारीमाथि सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी तेजसिंह भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ। बिहीबार बिहान करिब पौने १२ बजे प्रधानाध्यापक भण्डारीले विद्यार्थीमाथि हातखुट्टाले प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका विद्यार्थी तेजसिंह भण्डारीको तल्लादेही स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार गरिएको थियो। उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ। घटना लगत्तै प्रधानाध्यापक भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। विद्यालयमा शिक्षकबाट विद्यार्थीमाथि भएको यस कुटपिटको घटनाले स्थानीय स्तरमा चासो बढाएको छ।

ताजा समाचार