काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा आफ्नो पार्टीले अघि सारेको प्रस्तावमाथि राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल भइरहेको बताएकी छन्। पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपको विषय संविधान संशोधनसँग समेत जोडिएकाले यसमा व्यापक छलफलको आवश्यकता रहेको उल्लेख गरिन्।
रास्वपाले प्रदेशसभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपको प्रस्ताव अघि सारेको छ। आफूहरूको प्रस्तावमाथि दलहरूबीच छलफल भएर कहाँसम्म सहमति जुट्छ, त्यसैका आधारमा आगामी मार्ग तय हुने गौतमको भनाइ छ।
“यो छलफल भइरहेको विषयवस्तु हो,” गौतमले भनिन्, “संविधान संशोधनसँग पनि जोडिएको विषयवस्तु भएकाले अहिले प्रारम्भिक रूपमा दलहरूसँग छलफल भइरहेको छ। कहाँ गएर सहमति हुन्छ, त्यसले आगामी दिन तय गर्छ।”




